गुर्जो नेपालमा पाइने एक किसिमको जडीबुटी हो।
यो एउटा लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हन्छ। यसका आँख्लाहरूबाट जरा निस्केर हावामा लहरिएका हुन्छन्। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता ग्रन्थीका थोप्ला थोप्लाले भरिएको हुन्छ। यसका पातहरू एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नुदार हुन्छन्। पातहरू मुटु आकारका ७—८वटा नशाहरू भएका करीब १० से.मी लामा हुन्छन्। यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन्। भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फुलहरू एक्लाएक्लै रहेका हुन्छन्। फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन्।
यो उत्तर—पूर्वी भारत, श्रीलङ्का, म्यानमार , थाइल्याड ,भियतनाम। दक्षिणी चीन, मलेसिया लगायत नेपालमा पाइन्छ। नेपालमा यो ३००—५०० मिटरसम्मको उचाइमा पूर्वदेखि पश्चिमसम्म पाइन्छ।
यसको उपयोगी अङ्ग लहरा (डाँठ) हो। यसको डाँठ कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, तथा बाथ आदि रोगहरूमा उपयोग गरिन्छ।
यो जस्तो सुकै माटोमा पनि हुर्कन सक्छ। खासगरी गर्मी ठाउँहरूमा राम्ररी हुर्कन्छ।
नर्सरीमा तयार गरिएका वेर्नाहरू खासगरि कुनै रुखहरूको फेदमा लगाइन्छ। किनकि यो रुखको सहारामा हुर्कने लहरेदार विरुवा हो।
लगाइएको पहिलो वर्षमा सिँचाई तथा झारपात उखेल्ने गर्नु पर्दछ भने पछिल्ला वर्षहरूमा त्यति हेर विचारको खाँचो पर्दैन।
यसको काम लाग्ने भाग भनेको लहरेदार काण्ड नै हो, त्यसकारण मंसिर देखि माघ महिनासम्म यसका लहराहरू काटिन्छ। लगाएको मितिले करीब दुई वर्ष पछि मात्र विरुवाहरू वाली लिन योग्य हन्छन्। लहरालाई जमीनदेखि माथि केही भाग छोडेर काट्नु पर्छ र अर्को वर्षमा त्यही भागबाट पलाएर आउँछ। यसरी काटिएका लहरालाई ५–७ से.मी लामा टुक्रयाइएका टुक्राहरूलाई बीचैबाट ४ फ्याक हने गरि काटेर सुकाइन्छ। अथवा मुग्रोले थिचेर चेप्टो पारिन्छ। अनि एक हप्ता जति घाममा राम्ररी सुकाइन्छ। भण्डार गर्दा ओस आउन दिन हुँदैन। [१]
गुर्जो नेपालमा पाइने एक किसिमको जडीबुटी हो।